काठमाडौं । गत सिजन थ्री स्टार क्लबले लिग जित्ने लक्ष्यसहित चाहिएको खेलाडी टिममा अनुबन्ध थियो । तर, थ्री स्टारले सोचेको जस्तो प्रदर्शन गर्न सकेन ।
एक प्रकारले भन्दा थ्री स्टारलाई आफ्ना महत्वपूर्ण खेलाडीले नै धोका दिए । यस बिषयमा क्लबका पदाधिकारी बोल्दैनन् तर उनीहरुलाई थाहा थियो । हाम्रा खेलाडीको अवस्था ठिक छैन ।
गत सिजन थ्री स्टारले लिग सकिए लगत्तै आफ्ना केही खेलाडीलाई नियमबिपरित मोफसल खेल्न गएको भन्दै कारबाही गर्दै टिमबाट निकालेको थियो । त्यसैले यस पटक थ्री स्टारले टिममा ठूलो परिवर्तन गरेको छ ।
यस सिजन थ्री स्टारले केही राम्रा खेलाडीलाई समेत रिलिज गरेको छ । थ्री स्टारले यस सिजनको लागि नयाँ विदेशी र स्वदेशी खेलाडी राख्दै टिम बनाएको छ ।
गत सिजन तेस्रो स्थान हासिल गरेको थ्री स्टारले बुधबार जावलाखेल युथ क्लबसँग खेल्दै सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवात गर्दैछ ।
थ्री स्टार र जावलाखेलबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । पहिलो ललितपुर डर्बी भिडन्त साढे १२ बजे सुरु हुनेछ ।
जावलाखेलविरुद्ध मैदान उत्रदा थ्री स्टार पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिमका खेलाडीले क्लब छोडेपनि नयाँ प्रतिभावान खेलाडीलाई साथमा लिएर लिग जित्ने योजना क्लबले बनाएको छ ।
'लिगको लागि हामी तयारी छौं । हाम्रो विपक्षी के कस्तो छ थाहा छैन । हामी आफ्नो खेल खेल्दै तीन अंक जोड्न चाहन्छौं,' थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसी भन्छन् ।
यस पटक थ्री स्टारले आफ्ना केही महत्त्वपूर्ण खेलाडी गुमाउने छ । गत सिजन टिममा रहेका रन्जित धिमाल, सुनिल बल, गोलरक्षक एलन न्यौपाने, रेजिन सुब्बा, रन्जन बिष्ट टिम छोडेर अन्य क्लबमा अनुबन्धित भैसकेका छन् ।
तर, क्लब छाडेर गएका खेलाडीको स्थान लिन सक्ने अन्य खेलाडी टिममा रहेको मुख्य प्रशिक्षक केसी बताउछन् ।
'राम्रा खेलाडी बाहिर गएर हामी कमजोर भएका छैनौं । उनीहरु भन्दा राम्रा खेलाडी हामीले तयार गरेका छौं,' प्रशिक्षक केसीले भने ।
थ्री स्टारले गत सिजन लिग खेल्न नपाएका अनन्त तामाङ, कप्तान बिक्रम लामा, मिक्छेन तामाङ र रुपेश केसी सहितको टिम जावलाखेलविरुद्ध उतार्नेछ ।
गत सिजन दुई क्लबबीचको भेटमा थ्री स्टारले बाजी मारेको थियो ।
यस सिजन भने जावलाखेल उक्त हारको बदला लिन चाहन्छ । गत सिजन लिगमा दशौँ भएको जावलाखेल थ्री स्टारको मुख्य खेलाडी नहुनुको फाइदा उठाउन चाहन्छ ।
जावलाखेलका सहायक प्रशिक्षक जग्गुनाथ बोगटी थ्री स्टारविरुद्ध खेल्न खेलाडी तयार रहेको र स्पष्ट तीन अङको लागि खेल्ने बताउछन् ।
'थ्री स्टार राम्रो टिम हो । तर, हामी दबाब बिना खेल्छौ । हच्कने छैनौं । स्पष्ट तीन अंक हाम्रो लक्ष्य हुन्छ,' प्रशिक्षक बोगटी भन्छन् ।