काठमाडौ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज ( बुधबार ) दुई खेल हुँदैछन् ।
लिगको चौथो दिन रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ ।
दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् ।
यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।
जितको लक्ष्यमा थ्री स्टार र जावलाखेल
गत सिजन थ्री स्टार क्लबले लिग जित्ने लक्ष्यसहित चाहिएको खेलाडी टिममा अनुबन्ध थियो । तर, थ्री स्टारले सोचेको जस्तो प्रदर्शन गर्न सकेन ।
एक प्रकारले भन्दा थ्री स्टारलाई आफ्ना महत्वपूर्ण खेलाडीले नै धोका दिए । यस बिषयमा क्लबका पदाधिकारी बोल्दैनन् तर उनीहरुलाई थाहा थियो । हाम्रा खेलाडीको अवस्था ठिक छैन ।
गत सिजन थ्री स्टारले लिग सकिए लगत्तै आफ्ना केही खेलाडीलाई नियमबिपरित मोफसल खेल्न गएको भन्दै कारबाही गर्दै टिमबाट निकालेको थियो । त्यसैले यस पटक थ्री स्टारले टिममा ठूलो परिवर्तन गरेको छ ।
यस सिजन थ्री स्टारले केही राम्रा खेलाडीलाई समेत रिलिज गरेको छ । थ्री स्टारले यस सिजनको लागि नयाँ विदेशी र स्वदेशी खेलाडी राख्दै टिम बनाएको छ ।
गत सिजन तेस्रो स्थान हासिल गरेको थ्री स्टारले बुधबार जावलाखेल युथ क्लबसँग खेल्दै सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवात गर्दैछ ।
थ्री स्टार र जावलाखेलबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । पहिलो ललितपुर डर्बी भिडन्त साढे १२ बजे सुरु हुनेछ ।
जावलाखेलविरुद्ध मैदान उत्रदा थ्री स्टार पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिमका खेलाडीले क्लब छोडेपनि नयाँ प्रतिभावान खेलाडीलाई साथमा लिएर लिग जित्ने योजना क्लबले बनाएको छ ।
'लिगको लागि हामी तयारी छौं । हाम्रो विपक्षी के कस्तो छ थाहा छैन । हामी आफ्नो खेल खेल्दै तीन अंक जोड्न चाहन्छौं,' थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसी भन्छन् ।
यस पटक थ्री स्टारले आफ्ना केही महत्त्वपूर्ण खेलाडी गुमाउने छ । गत सिजन टिममा रहेका रन्जित धिमाल, सुनिल बल, गोलरक्षक एलन न्यौपाने, रेजिन सुब्बा, रन्जन बिष्ट टिम छोडेर अन्य क्लबमा अनुबन्धित भैसकेका छन् ।
तर, क्लब छाडेर गएका खेलाडीको स्थान लिन सक्ने अन्य खेलाडी टिममा रहेको मुख्य प्रशिक्षक केसी बताउछन् ।
'राम्रा खेलाडी बाहिर गएर हामी कमजोर भएका छैनौं । उनीहरु भन्दा राम्रा खेलाडी हामीले तयार गरेका छौं,' प्रशिक्षक केसीले भने ।
थ्री स्टारले गत सिजन लिग खेल्न नपाएका अनन्त तामाङ, कप्तान बिक्रम लामा, मिक्छेन तामाङ र रुपेश केसी सहितको टिम जावलाखेलविरुद्ध उतार्नेछ ।
गत सिजन दुई क्लबबीचको भेटमा थ्री स्टारले बाजी मारेको थियो ।
यस सिजन भने जावलाखेल उक्त हारको बदला लिन चाहन्छ । गत सिजन लिगमा दशौँ भएको जावलाखेल थ्री स्टारको मुख्य खेलाडी नहुनुको फाइदा उठाउन चाहन्छ ।
जावलाखेलका सहायक प्रशिक्षक जग्गुनाथ बोगटी थ्री स्टारविरुद्ध खेल्न खेलाडी तयार रहेको र स्पष्ट तीन अङको लागि खेल्ने बताउछन् ।
'थ्री स्टार राम्रो टिम हो । तर, हामी दबाब बिना खेल्छौ । हच्कने छैनौं । स्पष्ट तीन अंक हाम्रो लक्ष्य हुन्छ,' प्रशिक्षक बोगटी भन्छन् ।
मनाङसँग सचेत एपीएफ
मनाङ मर्स्याङ्दी क्लबले गत सिजन कीर्तिमानी आठौं पटक लिगको उपाधि जितेको थियो ।
तर, घरेलु फुटबलमा सफल क्लब मनाङलाई यस सिजन भने गाह्रो पर्ने देखिएको छ । किनकी लामो समयबाट क्लबमा रहेका खेलाडीले यस सिजन मनाङको साथ छोडेका छन् ।
लामो समय मनाङमा रहेका मिडफिल्डर सुजल श्रेष्ठ, विशाल राई, गोलकिपर विशाल श्रेष्ठ लगायत हेमन गुरुङ र कप्तान विराज महर्जनले यस सिजन टिम छाडेका छन् ।
यस्तै एएफसी कपका लागि टिममा रहेका अभिषेक रिजाल र देबेन्द्र तामाङ सहित गत सिजन उत्कृष्ट खेलेका विदेशी खेलाडी एडेलाजा सोमिडे र ओलावाले आफिजले पनि मनाङ छाडेका छन् ।
यस्तो अवस्थामा मनाङले बुधबार विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दै सहिद स्मारक 'ए' डिभिजन लिगमा नयाँ सिजनको सुरुवात गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
पहिलो पटक मनाङ राष्ट्रिय टिमका खेलाडी बिना मैदान उत्रदैछ । 'ए' डिभिजन लिगमा बढुवा भएपछि मनाङसँग राष्ट्रिय टिमका खेलाडी नभएको पहिलो पटक हो ।
मनाङसँग राष्ट्रिय टिमका सदस्य अन्जन बिष्ट थिए । तर, उनी डिस्को काण्डमा मुछिदा ४५ दिनको कारबाही छन् । जसको कारण अन्जनले लिगको आधा सिजन खेल्न पाउने छैनन् ।
खेलाडीले साथ छाड्दा साविक विजेता मनाङ लिगको उपाधि रक्षा गर्न कोशिश गर्ने अवस्थामा पुगेको छ । तर, मनाङ पहिलो खेलमा तीन अंक जोड्ने योजनासहित नै मैदान उत्रने छ ।
'हामीसँग अहिले खेलाडी छैनन् । हामीलाई गाह्रो छ । जति खेलाडी छन् उनीहरुबाटनै लिग जित्न कोशिश गर्छौ,' मनाङका प्रशिक्षक फुजा तोपे भन्छन् ।
गत सिजन फुजाले एएफसी 'ए' लाईसेन्स गरेका सुमन श्रेष्ठलाई टच लाइनमा उतार्दै मनाङलाई कीर्तिमानी आठौं पटक लिगको उपाधि दिलाएका थिए । यस सिजन सुमनको स्थान धनेश्वर प्रजापतिले लिनेछन् । ध गत सिजन उनले मछिन्द्र हेरेका थिए ।
यस पटक मनाङको कप्तानी डिफेन्डर कमल श्रेष्ठले गर्नेछन् । यस्तै आदित्य चौधरिले लिगमा मनाङको जर्सीबाट पुनरागमन गर्दैछन् । अन्जनका दाजु रन्जन बिष्ट पनि मनाङबाट लिग खेल्नेछन् ।
गत सिजनको भेटमा एपीएफविरुद्ध मनाङले खेल जितेको थियो । क्लब छाडेर मछिन्द्र गएका एडेलाजा म्यान अफ दि म्याच भएको खेलमा मनाङ २-० गोल अन्तरले विजयी भएको थियो ।
यस सिजनको पहिलो भेटमा भने एपीएफ सचेत भएर मैदान उत्रने छ ।
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पहिलो खेलमा मनाङसँग सचेत रहदै तीन अंकको लागि खेल्ने बताउछन् ।
'मनाङ बलियो टिम हो । उनीहरुसँग अहिले केही खेलाडी छैनन् । तर, उनीहरु राम्रो छ । डिफेन्डिङ च्याम्पियन हो । हामी सचेत भएर खेल्छौ,' मुख्य प्रशिक्षक तामाङले भने ।
प्रशिक्षक तामाङले मनाङले अट्याकिङ फुटबल खेल्ने हुदा त्यहिँ अनुसारको योजना बनाएर मैदान उत्रने बताए ।
'मनाङको अट्याकिङ राम्रो छ । उस्ले अट्याकमै खेल्छ । हामी पनि जित्नकै लागि खेल्छौ,' उनले थपे ।
गत सिजन २३ अंक जोडेको एपीएफ पाँचौ स्थानमा रहेको थियो ।