काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।
एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा ओन्गुएने निकेन्ग्युले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई २-० को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई ४-० को जित दिलाए ।

यस्तै एनआरटीले गत सिजन व्यहोरेको हारको बद्ला समेत लिएको छ । गत सिजन सरस्वती २-१ ले विजयी भएको थियो ।
जितसँगै एनआरटीले १ अंक जोडेको छ । गत सिजन लिगको पुछारमा रहेको कारण एनआरटीको दुई अंक घटेको हो ।
एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, यस सिजनको लागि पुछारको टिमको दुई र पुछारबाट दोस्रो स्थानको टिमको एक अंक घटाउने नियम बनाएको थियो ।
सरस्वतीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

एनआरटी प्लेईङ सेट :
एरिक बिष्ट, बिक्रम धिमाल,प्रकाश बुढाथोकी,अजित प्रजापति, राजेश परियार,सरोज तामाङ,दर्शन गुरुङ,नविन गुरुङ, आन्द्रे थिएरी बियिक,जुनियर ओन्गुएने निकेन्ग्यु, जोर्डन एनडेम्बा
सरस्वती प्लेईङ सेट :
राज शाही, दिपेश श्रेष्ठ,सुशन लामा,रमेश तामाङ,विनोद केसी,मनिष थापा,बर्षात गुरुङ, शान्त बहादुर गुरुङ, बिष्णु कुमार केसी,हिसुब थपलिया, दिपक भुसाल
