काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको 'होम गेम' मा नेपाली खेलाडीले गोर्खाली शैलीमा खेलेको बताएका छन् ।
भुटानको थिम्पुमा मंगलबार कुवेतसँग १-० गोल अन्तरले पराजित भएपछि बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडीले अन्तिमसम्म निडर भएर खेलेको बताए ।
'खेलाडीले आज राम्रो खेल्यो । अन्तिमसम्म पनि खेलाडीमा एचिद्युड थियो । गोर्खाली शैलीमा खेल्यो। अन्तिमसम्म हार नमानी गोलका लागि प्रयास गर्यो,' पोस्ट म्याच कन्फरेन्समा श्रेष्ठले भने ।
चाङ्लिमिथाङ रंगशालामा पहिलो हाफमा कप्तान बदर अल मतवाले गोल गर्दै कुवेतलाई जित दिलाएका थिए ।
यस्तै प्रशिक्षक श्रेष्ठले कुवेतसँग अंक खोस्ने प्रयास गरेको भएपनि पाएको मौका सदुपयोग गर्न नसकेको बताए ।
'एक अंक भएपनि लिने लक्ष्य थियो । अवसरहरु पाएका थियौं तरपनि गोल हुन सकेन। सदुपयोग गर्न सकेनौँ,' श्रेष्ठले थपे ।
श्रेष्ठले घरेलु भूमिमा खेल्न पाएको भए खेलाडीले अझ राम्रो गर्न सक्ने बताए ।
नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युकाे रुपमा भुटानमा सारिएकाे हो ।
त्यस्तै कुवेती प्रशिक्षक थामेर एनाडले मौषमको कारण खेल्न नसकेको बताए ।
'यहाँको मौसमले गर्दा हामीले राम्रो खेल्न सकेनौँ। तर, ३ अंक हाम्रो लागि महत्वपूर्ण हो ,' प्रशिक्षक थामेरले भने ।