काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा लुईस इन्रिके नियुक्त भएका छन् ।
स्पेनिस फुटबल फेडेरेसनले मंगलबार प्रशिक्षक इन्रिकेलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षकबाट राजीनामा दिएको ५ महिनापछि इन्रिके स्पेनिस टिममा फर्किएका हुन् ।
इन्रिकेले व्यक्तिगत कारण देखाउदै गत जुनमा मुख्य प्रशिक्षक छाडेका थिए । हड्डीको क्यान्सरबाट पीडित आफ्ना छोरि साना मार्टिनेजलाई समय दिन उनले पद छाडेका थिए । तर, गत अगस्टमा उनको छोरि सानाको निधन भएको थियो ।
अब ४९ वर्षीय इन्रिकेले सहायक प्रशिक्षक रोबर्टो मोरेनोको स्थान लिने छन् । पछिल्लो समय स्पेन सहायक प्रशिक्षक मोरेनोको नेतृत्वमा खेल्दै आएको थियो ।
मोरेनोको नेतृत्वमा स्पेनले ७ खेलमा शतप्रतिशत जित निकालेका थिए । मोरेनोको नेतृत्वमा स्पेनले सोमबार राति रोमानियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।