काठमाडौं । विभागीय टिम एपीएफ क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा 'ए' डिभिजन क्लब संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम ८ मा पुगेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा गोलरक्षक अमृत चौधरीले दुई पेनाल्टी बचाएपछि एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
एपीएफका सुदिप शिख्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे । संकटाका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए । मासऔके पिएरे र रोमन लिम्बुको प्रहार गोलरक्षक एपीएफका अमृतले रोकिदिएका थिए ।
त्यसअघि खेलको ३२ औं मिनेटमा सन्तोष नेपालीको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, संकटाका कप्तान अमितले खेलको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
अब एपीएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।