काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको 'होम गेम' मा नेपाल पराजित भएको छ ।
भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
कुवेतविरुद्ध नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाएका थिए ।
नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युकाे रुपमा भुटानमा सारिएकाे हो ।यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो ।
यो हारसँगै छनोटको समूह 'बी' मा रहेको नेपालले ५ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।
कुवेत भने ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अब नेपालले अर्को होम खेल चाईनिज ताइपेसँग दशरथ रंगशालामा मार्च २६ मा खेल्नेछ ।
