काठमाडौं । विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा 'ए' डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम ८ मा पुगेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर पुलिसले जित निकालेको हो । पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले एक एक गोल गरे ।
जावलाखेलका विदेशी खेलाडी अडामा डाम्वियाले गोल गरेका थिए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।