काठमाडौं । फ्रेन्ड्स क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा आयोजक चन्द्रागिरी नगरपालिकामाथि ५–० को फराकिलो जित निकाल्दै फ्रेन्ड्स प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन सन्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले एक एक गोल गरे ।
आयोजकविरुद्ध खेलको तेस्रो मिनेटमा सन्जोकको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । पाँचौ मिनेटमा शक्तिले फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । २३ औं मिनेटमा रुमेशले गोल गर्दा फ्रेन्ड्सले पहिलो हाफमा ३-० को अग्रता बनायो ।
खेलको ५१ औं मिनेटमा प्रिजेनले गोल गर्दा फ्रेन्ड्सको अग्रता ४-० को बन्यो । त्यसपछि खेलको ७० औं मिनेटमा निशानले गोल गर्दै फ्रेन्ड्सलाई ५-० को जित दिलाए ।
प्रतियोगिता अन्तर्गत सोमबार विभागीय नेपाल पुलिस क्लब र जावलखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ ।