काठमाडौं । एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत आज (शुक्रबार) नेपालले घरेलु टिम इरानको सामना गर्दैछ ।
छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको नेपाल इरानविरुद्ध अंक खोस्ने दाउमा हुनेछ । बलियो टोली इरान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
रेजिन सुब्बाको कप्तानीमा रहेको नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो । इरानले आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३ – ० गोल अन्तरले पराजित गरेको थियो ।
शुक्रबार नै हुने पहिलो खेलमा युएई र किर्गीस्तान भिड्नेछन् ।
समूह डी मा इरान र युएईको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा युएई पहिलो स्थानमा रहेको हो ।
यस्तै नेपाल र किर्गीस्तान भने अंक विहीन रहदै तेस्रो र चौथो स्थानमा छन् ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले आईतबार किर्गीस्तानको सामना गर्नेछ ।