काठमाडौँ। युगान्डाले नयाँ प्रशिक्षकका साथ आईसीसी टी–२० विश्वकप डेब्यू गर्ने भएको छ। युगान्डा क्रिकेट संघले जुनमा हुने विश्वकपका लागि भारतका प्रथम श्रेणीका पूर्वब्याट्सम्यान अभय शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो।
उनले युगान्डाको क्रिकेट टोलीसँग तीन वर्षको सम्झौता गरेका छन्। शर्माले लरेन्स महतलेनको स्थान लिने छन्। लरेन्ससँग केही समयअघि मात्रै सम्झौता सकिएको थियो। यस्तै, अन्तरिम प्रशिक्षक ज्याक्सन ओग्वाङ सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
भारतीय टोलीमा डेब्यू गर्न नपाएपनि शर्माले दिल्ली र रेलवेका लागि कीर्तिमान बनाएका छन्। भारत ए र भारतको यू १९ टोलीमा उनले फिल्डिङ प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।
शर्मा यसअघि नै युगान्डा पुगिसकेका छन्। उनी अफ्रिकी राष्ट्रको जिम्मेवारी सम्हाल्ने समयको प्रतीक्षामा छन्। 'प्रतिभाशाली क्रिकेटरहरूको समूहसँग काम गर्ने यो अवसरको लागि म धेरै आभारी छु,' उनले भने,'युगान्डामा नै मेरो दोस्रो घर जस्तो लाग्छ। यहाँका मानिसहरू राम्रा छन् र यहाँको परिवेशले भारतको सम्झना दिलाउँछ।'
युगान्डा विश्वकपमा समूह सी मा रहेको छ। यस समूहमा युगान्डासहित सह-आयोजक वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान र पपुवा न्युगिनी रहेका छन्।
टी–२० विश्वकपमा युगान्डाले पहिलो खेल जुन ५ मा अफगानिस्तानसँग गुयानामा खेल्नेछ।