काठमाडौँ। मुम्बई इन्डियन्समा फर्किएका स्टार अलराउन्डर हार्दिक पाण्ड्याका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनको पहिलो हाफ राम्रो हुन सकेन।
५ पटकको उपाधि विजेता कप्तान रोहित शर्माको स्थानमा हार्दिकले जिम्मेवारी सम्हालेका छन्। तर, उनी लगातार समर्थकहरूबाट नकारात्मक कमेन्ट्सको सिकार भइरहेका छन्। नयाँ कप्तान हार्दिकको कप्तानीमा मुम्बईले शुरूका ७ मध्ये ३ खेलमा मात्र जित हात पारेको छ।
पूर्व टी–२० विश्वकप विजेता तथा ओपनर रोबिन उथप्पाले नकरात्मक हुटिङका कारण हार्दिकमाथि 'मानसिक स्वास्थ्य समस्या' उत्पन्न भएको बताएका छन्।
हार्दिकलाई समर्थन गर्दै उथप्पाले मुम्बई इन्डियन्स फर्कने आफ्नो निर्णयको समर्थन गर्दै समर्थकहरूको व्यवहार अन्यायपूर्ण भएको बताए।
'उनी भारतीय टोलीका लागि सर्वकालिक महान खेलाडी बन्ने क्षमता भएका व्यक्ति हुन्। ३–४ उपाधि जितेपछि उनले मुम्बईबाट बाहिरिने निर्णय सुनाएका हुन्। मुम्बईले पनि उनलाई अर्को टोलीमा जान दिएको हो। उनलाई अलि नराम्रो लागेको हुनुपर्छ, उनी गुजरात टाइटन्स गए। एउटा उपाधि जिते र अर्कोमा उपविजेता बने,' उथप्पा भन्छन्।
उथप्पा थप्छन्, 'फिटनेसबारे जोक्स, ट्रोल र मेमहरूले के तपाईँलाई लाग्दैन कि यसले उनीलाई पीडा दिन्छ? यसले उनीलाई दुःख दिन्छ? यसले कुनै पनि मानिसलाई चोट पुर्याउँछ। वास्तवमा कति जना मानिसहरूलाई थाह छ हार्दिक मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन् भनेर? कुनै पनि मानिसमाथि यस्तो व्यवहार थोपर्नु हाम्रो लागि अशोभनीय छ। हामीले यसमा हाँस्नु हुँदैन, मेमहरू फरवार्ड गर्नु हुँदैन।'
टेलिभिजनमा हार्दिकको आलोचना भइरहेको बताउँदै उनले यसरी आफ्नो राय राख्नु गलत रहेको बताए। यस सिजनको पहिलो ७ खेलमा हार्दिकले २३.५० को औसतमा १४१ रन बनाएका छन्। बलिङतर्फ हार्दिकले ४ विकेट लिनुका साथै २३.५० को औषत र १४६.८७ को इकोनोमीमा रन बनाएका छन्।