काठमाडौँ। नेपालको दोस्रो पटक एशिया कप खेल्ने सपना अधुरै बनेको छ। शुक्रबार सम्पन्न एसीसी प्रिमियर कपअन्तर्गत पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपाल एशिया कपमा पुग्न असफल भएको हो।
गत वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले दोस्रो पटक एशिया कपमा स्थान बनाएको थियो। नेपालले त्यसअघि सन् २००२ मा एशिया कपमा स्थान बनाए पनि खेल्न भने पाएको थिएन।
नेपाल समूह चरणमा शतप्रतिशत जितसहित विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। समूह ‘बी’ मा रहेको मलेसियालाई ५, हङकङलाई ८ र साउदी अरबलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। यस्तै, कतारलाई नेपालले ३२ रनले पराजित गरेको थियो।
यूएई भने समूह ‘ए’को उपविजेता बनेर सेमिफाइनल पुगेको थियो। कुवेतलाई ७ र कम्बोडियालाई ९ विकेटले पराजित गरेको यूएईले बहराइनलाई ३७ रनले हराएको थियो। ओमानसँग भने यूएई ९ विकेटले पराजित भएको थियो।
यूएईसँग पराजित भएसँगै नेपालले शनिबार तेस्रो स्थानका लागि खेल्ने छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।
फाइनल पुगेसँगै यूएईले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेको छ। यस्तै, एशिया कपमा पुग्न यूएईले आइतबार ओमान र हङकङबीचको विजेतासँग खेल्ने छ।
दोस्रो सेमिफाइनल खेल शुक्रबार ४:१५ बजे नै हुँदै छ।