काठमाडौँ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक २ विकेट लिएका कुशल भुर्तेल वेस्ट इन्डिज ‘ए’विरुद्धको खेलमा ब्याटिङमा भने सस्तैमा समेटिएका छन्।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौँ ओभरको पहिलो बलमा ओपनर भुर्तेललाई गुमाएको हो।
५ बल खेलेका भुर्तेलले १ रन मात्रै बनाउन सके। उनलाई फेबियन एलेनले बोल्ड गरे। कुशल तेस्रो खेलमा आराम गरेर फर्किएका थिए। यसअघि पनि उनी खराब लयबाट गुज्रिरहेका थिए। पहिलो खेलमा भुर्तेलले १६ रन बनाएका थिए। १२ बल खेलका उनले ३ चौका प्रहार गरे।
दोस्रो खेलमा पनि भुर्तेल चल्न सकेनन्। ८ बल खेलेका उनले १ रन बनाएका थिए।
त्यसपछि तेस्रो खेलमा देसाईंले उनलाई आराम दिएका थिए। तर, उनको स्थानमा ओपनिङमा उत्रिएका अनुभवी ब्याटर विनोद भण्डारीले पनि राम्रो प्रदर्शन गर्न नसकेपछि देसाईंले भुर्तेललाई नै चौथो खेलमा पहिलो रोजाइमा उतारेका थिए।
बलिङमा भने उनले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका जोनसन चार्ल्ससँगै केसी क्यार्थीलाई आउट गरे। ४ ओभर बलिङ गरेका उनी नेपालका लागि किफायती बलर सावित भए। २ विकेट लिन उनले २३ रनमात्रै खर्चेका थिए।