काठमाडौँ। क्रिकेट अस्ट्रेलिया (सीए) ले भारत र पाकिस्तानबीचको द्विपक्षीय शृङ्खला आयोजना गर्ने इच्छा व्यक्त गरेको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) एकअर्कासँग खेल्न सहमत भए शृंखला आयोजना गर्न तयार रहेको सीएले बताएको हो।
यो समरमा भारत र पाकिस्तानको टोली अस्ट्रेलियामा सँगै हुनेछन्। सीएले सार्वजनिक गरेको घरेलु तालिका अनुसार पाकिस्तानले नोभेम्बरमा अस्ट्रेलियामा तीन एक दिवसीय र तीन टी–२० खेलको शृंखला खेल्नेछ।
यो शृङ्खला सकिएको चार दिनपछि अस्ट्रेलियाले भारतसँग पाँच टेस्टको शृंखला खेल्ने छ। अहिलेको अवस्था हेर्दा भारत र पाकिस्तानबीच शृंखला हुने सम्भावना निकै कम छ।
भारत र पाकिस्तानले २०१२–२३ कुनै द्विपक्षीय शृंखला खेलेका छैनन्। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आयोजना गर्ने विश्वकप र एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गर्ने एशिया कपमा भने एकअर्काको सामना गर्दै आएका छन्।
मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा टी–२० विश्वकप २०२२ अन्तर्गत भारत–पाकिस्तानबीचको खेल आयोजना भएको थियो। उक्त खेल हेर्न ९० हजार २९३ दर्शक उपस्थित थिए। त्यसयता सीए, एमसीजी र भिक्टोरिया सरकारले भारत–पाकिस्तानबीच पुन: खेल आयोजना गर्न निरन्तर इच्छा व्यक्त गर्दै आएका छन्।
सीएका प्रमुख कार्यकारी निक हक्लीले बुधबार फेरि आफ्नो इच्छा दोहोर्याए। '२०२२ मा एमसीजीमा भारत-पाकिस्तान म्याचको आयोजना गर्नु यस मैदानको सबैभन्दा यादगार क्षणहरूमध्ये एक थियो। धेरै दर्शकहरू यो प्रतिस्पर्धालाई फेरि हेर्न चाहन्छन्। यदि यस्तो मौका आयो भने हामी त्यो अवसरलाई खुसीसाथ स्वीकार गर्छौँ,' उनले भने।
मंगलबार सीएका कार्यतालिका प्रमुख पिटर रोचले दुवै देशका बोर्डले चाहेमा त्रिकोणात्मक शृङ्खला पनि आयोजना गर्न सक्ने बताएका थिए। जसमा भारत–पाकिस्तानबाहेक तेस्रो टोली आयोजक अस्ट्रेलिया हुनेछ। तर, आईसीसीको फ्युचर टूर्स प्रोग्राम (एफटीपी)मा त्रिकोणीय शृंखलाको लागि कुनै स्थान छैन।