काठमाडौँ। सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई १९४ रनको लक्ष्य दिएको छ।
सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको हो।
राजस्थानका सञ्जुले अविजित रहँदै ८२ रनको इनिङ्स खेले। ५२ बल खेलेका उनले ३ चौका र ६ छक्का प्रहार गरे। यता, ध्रुव जुरेल १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।
राजस्थानले पहिलो विकेट १३ रन बनाउँदा नै गुमाएको थियो। नवीन उल हकको बललाई कभर ड्राइभमा खेल्ने क्रममा ओपनर जोस बटलर ११ रनमा आउट भए।
त्यसपछि राजस्थानको इनिङ्स अर्का ओपनर यशस्वी जयसवाल र कप्तान सञ्जु सामसनले उकास्ने प्रयास गरेका थिए। उनीहरूले दोस्रो विकेटका लागि १८ बलमा ३६ रनको साझेदारी गरे। यद्यपि, पाँचौँ ओभरको अन्तिम बलमा जयसवाल २४ रनमा पेभिलियन फर्किए।
मोहिसिन खानको बललाई पुल प्रहार गर्ने क्रममा उनी क्रुणाल पाड्याबाट मिडअनमा क्याच आउट भए। चौथो नम्बरमा आएका रियान परागले २९ बलमा १ चौका र ३ छक्कासहित ४३ रन बनाए। उनी १५औँ ओभरको पाँचौँ बलमा डीप स्क्वायर लेगमा दिपक हुड्डाबाट क्याच आउट भए।
पराग र सञ्जुले तेस्रो विकेटका लागि ५९ बलमा ९९ रनको साझेदारी गरे। शिमरोन हेटमेयर ५ रनमा आउट भए। लखनउका नवीन उल हकले सर्वाधिक २ विकेट लिए। मोहसिन खान र रवि बिश्नोईको नाममा १/१ विकेट रह्यो।