काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले हराएको छ ।
बिहीबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले हराएको हो ।
सुरुवातमा ब्याटिङ गरेको नेदरल्याण्ड्सले ५ विकेट गुमाएर २ सय ४७ रनको बिशाल योगफल बनाएको थियो ।
माइकल लेविटको १ सय ३५ रनको शानदार इनिङ्समा नेदरल्याण्ड्सले ठुलो स्कोर खडा गरेको थियो । साइब्रान्ड एनगेलब्रेक्टले ७५ रनको योगदान दिए । अन्यले खासै रन जोड्न सकेनन् ।
नामिबियाका रुबेन ट्रम्पेलमेनले दुई तथा बेन सिकोगो र जान फ्राइलिन्कले एक एक विकेट लिए ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो ।
जेन ग्रीन र जान फ्राइलिन्कले समान ४२ रन बनाएको इनिङ्समा जीन पियरे कोट्जेले २६ रनको योगदान दिए । रुबेन ट्रम्पेलमेन र जोहान्स जोनाथन स्मिटले समान १९ रन बनाए ।
नेदरल्याण्ड्सका टिम वान डेरले दुई तथा विवियन किन्ग्मा, फ्रेड क्लासेन, आर्यन दत्त, साइब्रान्ड एनगेलब्रेक्ट र रुलोफ वान डेरले समान एक एक विकेट हात पारे ।
नेदरल्याण्ड्सले सुरुवाती दुई खेलमा जित निकाल्दै सिरिजमा ४ अंक जोडेको छ । नामिबियाले २ अंक जोडेको छ । समान खेल खेलेको नेपाल शुन्य अंक सहित पुछारमा छ । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।