काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज पक्का भएको जनाएको छ ।
सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ ।
यस्तै दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।
यस सिरिजमा विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।
ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म आयोजना हुनेछ ।
यस समूहमा आयोजक ओमानसहित, नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको ग्रुप टु मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।
ग्रुप वानमा भने युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।