काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।
क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा,ऋषिराम गौतम,अमितबीर पाण्डे,करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर २९ गते अनुशासनको कारण देखाउदै कप्तान मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।
यस्तै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै क्यानका केन्द्रीय सदस्य लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको बताए।
'खेलाडीको कारबाही नियोजित तरिकाले भयो । हामीले खेलाडीको कारबाहीको विषयमा सहमति जनाएका थिएनन् । प्रतिवेदन हेर्ने मौका दिएनन्,' उनले भने ।
क्यान आईसीसीबाट निलम्बनमा परेको समय आफ्नै मेहेनतबाट खेलाडीलाई नेपाललाई एकदिवसीय अन्तराष्ट्रियको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडीमाथि कारबाही गरेको भन्दै उनीहरुले कारबाहीको भर्त्सना गरे ।
यस्तै उनीहरुले क्यान विधान अनुसार नचलेको आरोप लगाए ।
कार्यसमिति बैठकमा एजेण्डा वितरण नगरी आफुखुशी प्रस्ताबहरु ल्याएर छलफल गर्ने, आफूअनुकुल निर्णय गर्ने, त्यस्ता निर्णयहरु केन्द्रीय सदस्यले नै प्रेस विज्ञप्तिबाट थाहा पाउनुपर्ने अवस्था रहेको उनीहरुको आरोप छ ।
६ केन्द्रीय सदस्यहरुको विज्ञप्ति -