काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
फाप्ला क्रिकेट मैदानमा बुधबार सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
एपीएफले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा अलआउट हुँदै ३९ रनमा समेटियो ।
एपीएफका बलर चम्किएको खेलमा सुदूरपश्चिमका रुबी पोडार र कप्तान ऋतु कानुजियाले १०/१० रन जोडिन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
एपीएफका करुणा भण्डारीले ४ विकेट लिईन् । सोनु खड्का, रेखा रावल, सुमन विस्ट र सिता राना मगरले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।
एपीएफका लागि इन्दु बर्माले ३३ रन जोडिन । राजमती ऐरीले १९, सरिता मगरले १८ तथा रोमा थापाले १६ रन जोडिन । मामत चौधरी १४ रनमा आउट हुँदा कप्तान सिता राना मगरले ४ रन बनाईन ।
सुदूरपश्चिमका ऋतु कनोजियाले ३ तथा कविता जोशी र दिपा जोराले २/२ विकेट लिए ।
यस जितसँगै एपीएफ सेमिफाइनल नजिक पुगेको छ ।
समूह बी को एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
एपीएफ समूहको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको सुदूरपश्चिमले २ खेलमा २ अंक जोडेको छ ।