काठमाडौं । नेक्सस क्रिकेट एकेडेमीले दोस्रो संस्करणको हिमालय क्रिकेट लिग (एचसिएल ) क्रिकेटमा जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार नेक्ससले हिमालय क्रिकेट एकेडेमीलाई १ सय ३ रनले पराजित गरेको हो ।
नेक्ससले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको हिमालयले अलआउट हुँदै १ सय ४६ रन मात्र बनाउन सक्यो ।
हिमालयका लागि गजेन्द्र बोहराले ६८ रन बनाए । यस्तै दिपक बोहराले २७ रन र विराट भण्डारीले १३ रन बनाए ।
नेक्ससका नरेन साउदले ५ विकेट लिए । यस्तै आकाश चन्दले ४ विकेट लिए ।
यस अघि नेक्ससले दोस्रो इनिङ्समा ९ विकेट गुमाएर २ सय ३२ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । नेक्ससका आकाश चन्दले ५७ रन बनाए । यस्तै सनोज केसीले अविजित ५० रन जोड्दा रित गौतमले ४४ रन बनाए ।
हिमालयका कप्तान प्रतिश जिसीले ५ तथा प्रकाश कार्कीले ४ विकेट लिएका थिए ।
पहिलो इनिङ्समा नेक्ससले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । यस्तै हिमालयले पनि अलआउट हुँदै १ सय १७ रन बनाएको थियो ।