काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको छात्रामा सेमिफाइनल समीकरण तय भएको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रतियोगितामा समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे।
बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे। अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो।
गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो। समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो।
समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो। यस समूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो।
पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एक अर्कासँग खेल्न बाँकी छ। जित्ने टोली समूह विजेता बन्नेछ।
कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो। लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।