इटहरी । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले बिभिन्न राजनितिक पार्टीका खेल संगठनहरुसँग नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउने विषयमा छलफल गरेको छ ।
नवौँ राष्ट्रिय खेलको लागि जिल्ला छनौट सम्पन्न भएर प्रदेश छनौट प्रतियोगिताको तयारी भईरहेको समयमा प्रदेश छनौट प्रतियोगिता कसरी सफल बनाउने र कसरी प्रदेश एकमा खेलकुदलाई चलायमान बनाउँदै बढि पदक ल्याउने भन्ने विषयमा छलफल केन्द्रित भएको प्रदेश नम्बर एक खेलकुद विकास बोर्डले जनाएको छ ।
बोर्डका सदस्य सचिव हंशराज वाग्लेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा क्षेत्रिय तथा प्रदेश स्तरिय खेलकुद संघ तथा संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अखिल नेपाल खेलकुद महासंघ, खेलकुद महासंघ १ नम्बर प्रदेश, लोकतान्त्रिक खेलकुद संघ,नेपाल खेलकुद महासंघ समाजवादीका खेलकुद संघ तथा संगठनका क्षेत्रिय प्रतिनिधि सहितको भेलाले नवौँ राष्ट्रिय खेललाई १ नम्बर प्रदेशको सहभागितालाई विशेष महत्वका साथ साथ सहयोग गर्ने निर्णय गरेका छन् ।
यस्तै प्रदेश नम्बर १ को छनौट प्रतियोगिताका लागि प्रदेश छनौट समितिले जिल्लाहरुलाई पठाएको खेलाडी कोटामा अनुभवि तथा पुर्व राष्टिय खेलाडीहरु छुट्न गएको भन्दै केहि खेलाडीलाई छनौट प्रतियोगितामा समावेश गर्न दिने तथा तिनको खेलका केहि कोटामा समेत थप गर्ने निर्णय समेत गरिएको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिएका छन् ।
छलफलमा प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका संयोजक बसन्त अर्याल, अखिल नेपाल खेलकुद संगठनका इन्चार्ज किरण गिरी, खेलकुद महासंघका प्रदेश नम्बर १ इन्चार्ज सन्तोष बान्तावा, नेपाल लोकतान्त्रिक खेकलुद संघका सचिव अनुज बानिया को उपस्थिती रहेको थियो ।
प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट बोर्ड सदस्य शैलेस कुमार विष्ट, प्रदिप राज भगत, रोशनी राई, बिप्लब घोष, थलु राजभण्डारी, भेषराज कार्की साथै क्षेत्रिय खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला, नवौ खेलकुद प्रतियोगिताका सचिवालय सचिव टंक कटेल तथा प्राविधिक संयोजक विमल पोखरेलको सहभागिता रहेको थियो ।