काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले सडक सुरक्षा सम्बन्धि रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नासा नेपालले रेडियो काठमाडौंँसँग मिलेर ‘सेभ ड्राइभ, सेभ लाइफ’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नासा नेपाल मोटर-मोटरसाइक्लिङ स्पोर्टस, अटोमोबाइल मोबिलिटी र ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा नेपालको सक्रिय संस्था रहेको छ । रेडियो काठमाडौंबाट प्रशारण हुने कार्यक्रम हरेक आईतबार साँझ साढे ६ बजे आउनेछ । करिब आधा घण्टा समयको कार्यक्रम ५२ हप्तासम्म सञ्चालन गरिने नासा नेपालले बताएको छ ।
कार्यक्रम सम्बन्धि सम्झौता पत्रमा सोमबार रेडियो काठमाडौंका बिजनेश हेड चन्द्रमणी गौतम र एफआईए वल्र्ड काउन्सिलका सदस्य गोविन्द भट्टराईले हस्ताक्षर गरे । फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए)को सहयोगमा सञ्चालन हुने कार्यक्रम सवारी दुर्घटना र रोकथाम, सुरक्षित मोटरसाइकल राइडिङ र सुरक्षित हेल्मेटको आवश्यकता, सार्वजनीक यातायात र अटोमोबाईलका राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा सञ्चालन हुनेछ ।
कार्यक्रम रेडियो काठमाडौंसँगै नासा नेपाल र रेडियो काठमाडौंको फेसबुक पेजबाट सुन्न सकिने नासा नेपालका अध्यक्ष दशरथ रिसालले जानकारी दिएका छन् ।