पोखरा । आगामी असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल आयोजना स्थलको टुंगो लागेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि ३६ वटै खेल स्थलको टुंगो लागेको जानकारी गराएको हो । ११ वटै जिल्लाको भ्रमण पश्चात खेल स्थल टुंगो लागेको राखेपका सदस्य एवं खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । विविध कठिनाइले मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा भने प्रतियोगिता आयोजना गर्न नसकिएको उनले बताए ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रक्रियागत रुपमा कामहरु धेरै अगाडि बढेको बताउँदै नवौं राष्ट्रिय खेलकुद भव्यरुपले सफल हुने विश्वास व्यक्त गरे । नयाँ खेलकुद ऐन बनेपछिको पहिलो खेल भएकाले पनि सबै मिलेर प्रतियोगितालाई सफल बनाउनुपर्ने उनको भनाइ छ ।
परिषद्ले प्रतियोगिताको नतिजा सहजै रुपमा उपलब्ध गराउने उद्देश्यले www.ninth.nsc.gov.np आधिकारिक वेभसाइट सार्वजनिक गरेको छ । त्यस्तै नेसनल स्पोर्ट्स काउन्सिल एप पनि सञ्चालनमा ल्याएको छ । वेभसाइट र एपको बुधबार नै मन्त्री गहतराजले शुभारम्भ गरे ।
प्रतियोगिताको ‘काउन्ट डाउन’ सुरु भइसकेकाले तयारी तीव्र पारिएको सदस्य सचिव एवं मुल आयोजक समितिका संयोजक टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको ट्रफि भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेपछि असोज १ गते सुदूरपश्चिमबाट सुरु गरी विभिन्न ७ वटै प्रदेशहरुमा पदर्शनी गरिने छ । जसका लागि ओलम्पियन दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन भइसकेको छ ।
त्यस्तै तीन विभागीय टिममा समेत प्रदर्शन गरिने प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र बिष्टले जानकारी दिए । पहिलो पटक खेलाडीहरुका लागि अनलाइन दर्ता सुरु गरिएको पनि परिषद्ले जनाएको छ ।
सातवटै प्रदेश, तीन विभागीय र गैर आवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमको सहभागिता रहने प्रतियोगितामा कुल ३ सय ९३ स्वर्ण, ३९३ रजत र ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।