पोखरा । नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ ।
सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।
उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । प्याराग्लार्ङडिङका लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिसकेका उनले प्रतियोगिता पोखरामा नै सञ्चालन हुने संकेत गरे । खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिने उनले बताए ।
गुरुङले प्रतियोगिता सञ्चालनका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडी, प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे ।
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपन्त्व रहनेगरि सञ्चालनका लागि तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुरुङले बताए । विभिन्न जिल्लामा खेल पुर्वाधार र प्राविधिक अवरोधका कारण प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी पोखरा केन्द्रित हुन सक्न गुरुङले जानकारी दिए ।
सरकारले प्याराग्लाईडिङसहित अन्य खेलहरुमा पर्याप्त रकम विनियोजन गर्न नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडीले गुनासो गरेका छन् । गण्डकी खेलकुद परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले सोमबार खेलस्थल अवलोकन क्रममा पोखराको सराङकोटमा संचारकर्मी माझ उनले सो कुरा बताएका हुन् ।
प्याराग्लाइडिङ संघका संस्थापक अध्यक्ष समेत रहेका उनले प्याराग्लाइडिङ मंहगो खेल भएको भन्दै सरकारले पर्याप्त रकम दिन नसक्ने बताए ।
'सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छौँ,' उनले भने । राज्यबाट दिने स्रोत नै अपुग भएकोले खेलाडीलाई पर्याप्त रकम दिन नसकिने दवाडीको भनाई छ ।
प्याराग्लाईडिङ प्रशिक्ष्का योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । सराङकोट र तोरीपानीबाट व्यवसायीक प्याराग्लाईडिङ उडान हुँदै आएको पोखरामा प्राविधिक हिसावले पनि प्रतियोगिता सराङकोटबाट सञ्चालन गर्नु उपयुक्त भएको उनले बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताकालागि सराङकोट टेक्निकल तथा खेलाडीको सुरक्षाको लागि पोखरा उपयुक्त रहेको बताए ।
उनले प्रतियोगितामा खेलाडीहरुले यस अगाडीका विभिन्न प्रतियोगितामा प्राप्त गरेको नतिजा र छनौट चरणमा गरेको प्रर्दशन आधारमा प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लगाइने जानकारी दिए । विभिन्न जिल्लाबाट छनौट भएका प्याराग्लाइडिङ खेलाडीहरुले भदौ १६ गते देखि १८ गते सम्म पोखरामा संचालन हुने प्रदेश स्तरिय छनौटमा सहभागिता जनाउने छन् ।
भट्टराईका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय खेलका लागि दुई छुट्टा–छुट्टै इभेन्ट अन्तर्गत खेलाडी छनोट गरिने छ । महिला तथा पुरुष क्रस कन्ट्रि, महिला तथा पुरुष एकुररेसी इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् ।