काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालाको छानो एयर कार्गोबाट ल्याउने निर्णय गरेको छ ।
तेह्रौ दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग)को तयारीमा जुटेको मन्त्रालयले अन्तिम विकल्पको रुपमा दशरथ रंगशालाको छानो एयर कार्गोबाट ल्याउने निर्णय गरेको हो ।
‘समयको चाप हेरेर एयर कार्गो गरेर छोटो समयमा छानो काठमाडौंमा भित्राउने निर्णय गरेका छौ ।’ खेलकुद मन्त्री जगत विश्वकर्माले खेलपाटीसंग भने, ‘सामान ल्याउने एयरलाईन्स र एयर रुटको बिषयमा छलफल भईरहेको छ ।’
सागको तयारीका लागि रंगशालाको युद्वस्तरमा निर्माण भईरहेको छ । तर, भिभिआईतर्फको प्यारापिटको छानो अहिलेसम्म काठमाडौं ल्याउन सकिएको छैन । छानो चीनको सेन्जानमा उड्किएर बसेको छ ।
समुन्द्रको बाटो भएर छानो ल्याउने सम्भावना सकिएसंगै सरकारले विमानबाट कार्गो गरेर छत ल्याउने निर्णय लिएको हो ।
‘कार्गोको जटिलता हेरेर नेपाल एयरलाईन्स लगायतका विमानसंग छलफल गरिरहेका छौ । निर्माण कम्पनीका प्राविधिकसंग छलफल गरेका छौ ।’ मन्त्री विश्वकर्माले भने, ‘निर्माण सामाग्री समयमा ल्याउने हिसावले योजना बनेका छन् ।’
मंसिरको तेस्रो साता सुरु हुने सागको उद्घाटन र समापन दशरथ रंगशालामा गर्ने सरकारको तयारी छ । तर त्रिपुरेश्वरतर्फको प्यारापिटको छानो हाल्नै बाँकी छ ।
चीनियाँ सरकारको सहयोगमा साधारणतर्फको प्यारापिटसगै, सेन्थेटिक ट्रयाकको काम सम्पन्न भईसकेको छ । साधारणतर्फको प्यारापिटमा अहिले सिट जडानको काम भईरहेको छ ।
तर, प्रतियोगिता आयोजना गर्न एक महिनाको समय समेत नभएको अवस्थामा छानोको बिषय अन्यौलमा छ ।
सरकारले भिभिआईतर्फको छानोका लागि चीनको सिएमई कन्स्ट्रक्सन र नेपालको एचटिसीसंग सम्झौता गरेको थियो । तर ढुवानीको समस्याले समुन्द्रमार्गबाट साग अगाडीनै छानो आउने सम्भावना देखिएन ।
सोही कारण सरकारले विमानबाट कार्गो गरेर छानो ल्याउने तयारी अघि बढाएको हो । छानो आउन बाँकी रहेपनि छानोका लागि पिलर राख्ने काम शुक्रबारबाट सुरु भएको छ ।
नेपालमा आयोजना हुन लागेको साग मंसिर १५ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुदैछ । तर, दशरथ रंगशालाको छानो काठमाडौं ल्याउने काममा जटिलता थपिदाँ सरकारमाथि दबाब बढेको छ ।