काठमाडौं । दोस्रो संस्करणको नेपाल ई स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आगामी भदौमा आयोजना हुने भएको छ ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप भदौ २० र २१ गते हुने जानकारी गराएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने च्याम्पियनसिपमा डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो), फिफा, कस्प्ले र क्लासरुम रकर्स गरी ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।
डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) खेलको हरेक टोलीमा ५ खेलाडी रहने छन् । यस विधामा दर्ता शुल्क २ हजार ५ सय रहेको छ ।
यसपटकको डोटा च्याम्पियनले ११ औं विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने छन् । विश्व च्याम्पियनसिप सन् २०१९ को डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुनेछ ।
डोटा–२ र सीएस–गो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २० हजार र सेमिफाइनलमा पुगेका दुवै टोलीले १०–१० हजार नगद पाउनेछन् ।
यसबाहेक ई–स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल 'फिफा’ मा पनि प्रतिस्पर्धा पनि हुनेछ ।
यसका लागि खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
फिफातर्फको विजेताले १० हजार, उपविजेताले ४ हजार र सेमिफाइनलमा पुगेका दुवै टोलीले समान २–२ हजार पाउनेछन् ।
कस्प्लेको शीर्ष ५ मा पर्ने सबै खेलाडीले जनही १०–१० हजार पाउनेछन् । यसैगरी क्लासरुम रकसैको विजेताले २० हजार र उपविजेताले १० हजार नगत पाउनेछन् ।
च्याम्पियनसिपमा करिब ८ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । च्याम्पियनसिपको दौरान ई–स्पोर्ट्स एक्स्पो पनि आयोजना हुने आयोजकले जनाएको छ ।
नेपालमा ई–स्पोर्ट्सको व्यापार र यसको विस्तारमा रहेका सम्भावनालाई जनमानसमा पुर्याउने लक्ष्य लिएर यो एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ ।