काठमाडौं । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।
आइतबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेर एक्सपर्टले पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा स्वर्ण पदक विजेता खलाडी सबिना श्रेष्ठ, रजत पदक विजेता सोमी राई तथा कास्य पदक विजेता राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरिएको हो ।
स्वर्ण पदक विजेता श्रेष्ठलाई नगद ७ हजार रूपैयाँ, रजत पदक विजेता राईलाई ५ हजार रूपैयाँ तथा काश्य पदक विजेता रसाईली र लामिछानेलाई जनही ४ हजार रूपैयाँ, प्रमाणपत्र तथा अन्य उपहार प्रदान गरिएको हो । सो अवसरमा खेलाडीका प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, काठमाण्डौ महानगरपालिका ३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका ७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायत उपस्थित थिए ।
टोखा नगरपालिकाका प्रमुख अधिकारीले एक्सपर्टले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे ।
कार्यक्रममा एक्सपर्ट फाउन्डेशनका अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्न पाउँदा आफूहरूलाई गर्व लागेको उल्लेख गरे ।
सो अवसरमा सम्मानित खेलाडीले राज्यका निकायले आफूहरुलाइ खासै चासो नदिएपनि एक्सपर्टले गरेको सम्मानबाट आफूहरु लाई हौसला मिलेको बताएका थिए ।