पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपाल पुलिस क्लबकी टीकामाया गुरुङले स्वर्ण पदक जितेकी छिन् ।
महिला ५५ केजी तौल समूहमा टीकामायाले स्वर्ण जितेकी हुन् ।
टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् ।
उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए ।
पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् ।