काठमाडौँ । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पवन सर्राफले पहिलो विकेट हात पारेका छन् । पपुवा न्युगीनी (पीएनजी) विरुद्धको खेलमा असद भालालाई आउट गर्दै आफ्नो पहिलो एकदिवसीय अन्तराष्ट्रिय विकेट लिएका हुन् ।
पवनले ९६ बलमा ४५ रन बनाएका भालालाई विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराए ।
पवनले नेपालको लागि ५ खेल खेल्दै पहिलो विकेट लिन सफल भएका हुन् । उनले खेलेको सुरुवाती २ खेलमा भने बलिङ गरेका थिएनन् । यस्तै पछिल्ला ३ खेलमा समेत पवनले मात्र २/२ ओभर बलिङ गरेका थिए ।
जारी खेलमा पवनले ५ ओभरमा १ विकेट लिएर १७ रन खर्चेका छन् ।
टस जितेर पहिले बलिङ गरेको नेपालले ताजा स्तिथिमा ३७ ओभरमा १ सय १४ रन खर्चिदै पीएनजीको ६ विकेट लिएको छ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा अहिले पीएनजीसँग खेल्दै छ ।