काठमाडौं । उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिले शुक्रबारबाट सुरु हुने प्रतियोगितामा २ टिम थप गर्दै १८ टिम बनाएको छ ।
यसअघि प्रतियोगितामा १६ नगरपालिकाले खेल्ने बताएको थियो । तर, समितिले प्रतियोगिताका लागि विरेन्द्रनगर नगरपालिका र गोदावरी नगरपालिकालाई समावेश गरेको छ ।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने प्रतियोगितामा सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र घोराही तुल्सीपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै पहिलो दिन हुने अन्य खेलमा चन्द्रपुर नगरपालिका र गोदावरी नगरपालिका तथा भीमेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
समूह 'ए' मा बाँसगढी, घोराही तुल्सीपुर, शम्भुनाथ र वालिङ नगरपालिका रहेका छन् । समूह 'बी' मा कावासोती, हेटौडा उप महागर, चौदण्डी गढी, पोखरा महानगर र विरेन्द्रनगरपालिका रहेका छन् ।
समूह 'सी'मा बाह्रविसे, चन्द्रपुर, भिमेश्वर र काठमाडौं महानगर र गोदावरी नगरपालिका छन् । त्यस्तै समूह 'डी' मा विदुर, विराटनगर, धनगढी र पनौती नगरपालिका रहेका छन् ।
लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् । एक टिममा विभागका पाँच जना खेलाडीले खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने छन् ।