नुवाकोट । साविकको विजेता नेपाल पुलिस क्लब नुवाकोटमा जारी दोस्रो संस्करणको नुवाकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसले अर्काे विभागीय क्लब एपीएफ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्याे । आर्दश बहुमुखी क्याम्पस बट्टारको मैदानमा एक गोलले पछाडी परेको अवस्थामा खेल उल्टाउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।
एपीएफले खेलको ४० औं मिनेटमा नविन लामाको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । पुलिसका गोलकिपर रोशन खड्काले विपक्षी खेलाडीलाई फल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा पुलिस खेलमा फर्कियो । खेलको ५० औं मिनेटमा अजित भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेट बित्न नपाउँदै पुलिसले काउन्टर मार्फत गोल गर्याे । उसका सुमन लामाले ५१ औं मिनेटमा गोल गर्दै पुलिसलाई २-१ को गर्त दिलाए ।
खेलको ७० औं मिनेटमा रवि पासवानले गोल गर्दै पुलिसलाई ३–१ को अग्रता बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । खेलमा उत्कृष्ट प्रर्दशन गरेका पुलिसका रवि म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ हात पारे ।
अब पुलिसले फाइनल प्रवेशको लागि मंगलबार घरेलु टोली नुवाकोट-११ सँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा सोमबार लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
१० टिम सहभागिता प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् ।