एजेन्सी । नेसन्स लिग फुटबलको उपाधिका लागि आज राति पोर्चुगल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति साँढे १२ बजे सुरु हुनेछ ।
दुवै टोली लामो समयको उपाधि खडेरी तोड्दै फाईनल खेल जित्न चाहन्छन् ।
फाईनल खेललाई पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो भर्सेस डच खेलाडी भर्जिल भान डिकको रुपमा लिईएको छ । प्रिमियर लिगको उत्कृष्ट बर्ष खेलाडी घोषित भएका डच डिफेन्डर भान डिकलाई युरोपेली क्लब फुटबलका उम्दा फरवार्ड रोनाल्डोलाई रोक्नुपर्ने चुनौती छ ।
युरोपको क्लब फुटबलमा लामो समय राज गरेका रोनाल्डोले सेमिफाईनलको खेलमा स्विटजरल्याण्डविरुद्व ह्याट्रिक गरेका थिए । सोही कारण फाईनल खेल अघि रोनाल्डोबाट पोर्चुगलले ठुलो अपेक्षा गरेको छ । डच टिमले ईङ्लिस टोलीको चुनौती पार गर्दै फाईनलमा स्थान बनाएको हो ।
रोनाल्डोले आफुभित्रको धरै चिज बाहिर आउन बाँकी रहेको बताएका छन् । उनले यस सिजन युभेन्ट्सबाट सिरि एको उपाधि जितेका थिए । उता भान डिकले लिभरपुलबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
'३४ बर्षको उमेर समेत मैले अझै राम्रो महशुश गरेको छु ।' राेनाल्डाे भन्छन् ।
उपाधि भिडन्तमा उत्रदै गर्दा दुवै देश राम्रा खेलाडीबाट सुसज्जित छन् । पोर्चुगलका युवा खेलाडी जोआओ फेलिक्स र ब्रुनो फर्नान्डिसमाथि प्रिमियर लिगका ठुलो क्लबले मोटो रकम प्रस्ताव गरेका छन् । आयाक्समा रहेका डच खेलाडी माथाईज डी लिट र फ्रेन्की डे जोङस्पेनिस महारथी बार्सिलोनासंग हालै आबद्व भएका छन् ।
तर फाईनल खेललाई पाँच पटकका वालेन डि ओर खेलाडी रोनाल्डो र विश्व क्लब फुटबलका महङ्गा डिफेन्डर भान डिक बीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।
म्यानचेष्टर युनाईटेड र रियल मड्रिडका पुर्व खेलाडी रोनाल्डोले पोर्चुगलबाट तेस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिताको फाईनल खेल खेल्दैछन् । उनले सन् २००४ को युरो कप गुमाएपनि सन् २०१६ मा सो उपाधि उचालेका थिए । भान डिकले भने लिभरपुलबाट क्लब फुटबलको ठुलो पुरस्कार च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।
नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कोम्यानले भनेका छन्, हामीलाई जानकारी छ, ‘रोनाल्डोविरुद्व रक्षात्मक रुपमा खेल्न असंम्भव छ ।’
‘मलाई लाग्छ, हामी बललाई आफुसंग राख्न सक्छौ । किनकी जब हामीसंग बल हुन्छ, उनी आक्रमणका लागि केही गर्न सक्ने छैनन् ।’ उनले थपे ।
तर रोनाल्डो भने नेदरल्याण्ड राम्रो टिम भएको भन्दै उनीहरुले राम्रो खेल्ने गरेको बताउँछन् ।
रोनाल्डो भन्छन् ‘नेदरल्याण्ड निकै राम्रो टिम हो । उनीहरुले निकै राम्रो खेल खेलिरहेका छन् ।’
‘मैले उनीहरुको पछिल्ला खेल हेरिरहेको छु । उनीहरुको टिम उत्कृष्ट छ । खेलाडी निकै राम्रा छन् । डच टिम युवा र अनुभवी खेलाडीले भरिएको छ । जसले उनीहरुलाई बलियो बनाएको छ ।’ उनले थपे, ‘हामीलाई थाहा छ, उनीहरु केही कठिन प्रतिद्वन्दी हुन् । तर समग्रमा दुवै टिमलाई फाईनल खेल कठिन छ ।’