शालिकराम चालिसे
बिदुर । विभागीय टिम आर्मीलाई पराजित गर्दै संकटा क्लब दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा संकटाले आर्मीलाई २–० गोल अन्तरले हराएको हो । संकटाको जितमा दुवै गोल लक्ष्मण रुचालले गरे ।
खेलको ५० औ मिनेटमा गोल गर्दै उनले संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । ८३ औ मिनेटमा रुचालले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
सेमिफाइनलमा पुगेको संकटाले फाइनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत भोलि दुई विभागिय टोली पुलिस र सशस्त्र प्रहरीबचि प्रतिष्पर्धा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन ।
प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।