काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले चाईनिज ताईपेविरुद्व नेपाली टिमको बलियो परिक्षा हुने बताएका छन् । मैत्रीपुर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले बलियो टिमविरुद्व नेपालले राम्रो सुरुवात गर्ने अपेक्षा लिएको बताए ।
मलेसियासंग एउटा मैत्रीपुर्ण फुटबल खेलेर नेपाली टिम यतिबेला ताइवान पुगेको छ । त्यहाँ नेपाली टिमले भाेली (शुक्रबार) चाइनिज ताईपेसंग एक मैत्रीपुर्ण म्याच खेल्नेछ । विश्वकप छनोटको तयारी स्वरुपमा अखिल नेपाल फुटबल संघ एन्फाले दुई टिमसंग मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरेको हो ।
ताइवानमा सञ्चारमाध्यमसंग कालिनले भने, ‘हामीसंग बलियो युवा टोली छ । राम्रो सुरुवात गर्ने अपेक्षा गरेका छौ । खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । यो हाम्रो लागि निकै राम्रो अनुभव हुनेछ । अपेक्षा छ, हामी यसलाई पार गर्न सक्नेछौ ।’
मुख्य प्रशिक्षक कालिनले राष्ट्रिय टिमका ब्यापक फेरबदल गर्दै युवा टिम तयार पारेका छन् । चोट र फर्मका कारण फरवार्डद्वय भरत खवास र विमल घर्तिमगरलाई टिम बाहिर राखेका छन् ।
नेपालले विश्वकप छनोटलाई अहिले मुख्य लक्ष्य बनाएको छ । सोही अनुसार राष्ट्रिय टिमको तयारी तिव्र गतिमा अघि बढेको छ ।
‘खेलाडीमा एकाध चोटको समस्या छ । फरक खेलाडीलाई परिक्षण गरिरहेका छौ । हामीसंग निकै रोमाञ्चक टोली भएको महशुश गरिरहेका छौ ।’ कालिनले भने ।
टिमका फरवार्ड अन्जन विष्ट चोटका कारण मलेसियाबाट सिधै स्वदेश फर्किएका छन् । उनीले मलेसियामा रहदाँ खुट्टामा चोट बोकेका थिए ।
‘सधै खेलाडी फिट भएको हेर्न चाहन्छु । तर यो सम्भव समेत हुदैन । जति खेलाडी छन्, म खुसी छु ।’ कालिनले भने, ‘पछिल्लो समय हामीले मलेसियासंग खेलेका थियौ । हामीले गोल गर्न सकेनौ । अपेक्षा अनुसार खेल्न सकेनौ । कुवेतमा एक जित र एक हार ब्यहो¥यौ । तर म टिमको प्रर्दशनबाट खुसी छु । प्रर्दशन र फर्मका आधारमा विपक्षी निकै बलिया थिए । र विश्वकप छनोटमा निकै कठिन प्रतिद्वन्दी हुनेछन् । त्यस समयसम्म आफुलाई सुधार गर्ने प्रयास गर्नेछौ ।’
खेल ताइवान समय अनुसार साँझ ७ बजे अर्थात नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।