शालिकराम चालिसे ।
काठमाडौं । दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली नुवाकोट ११ ले शुखद शुरुवात गरेको छ ।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा बिहिबार भएको खेलमा घरेलु टोली नुवाकोट ११ ले काठमाण्डौको दिपशिखा युवा समुहललाई ५–० गोल अन्तरले हराएको हो ।
नुवाकोटका लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरे । खेलको १० औ मिनेटमा पहिलो गोल गरेका उनले ३४ औ मिनेटमा दोस्रो र ७५ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । अन्य गोल प्याट्रिक र दिनेश राजवंशीले गरे ।
३४ औ मिनेटमा प्याट्रिक र २५ औ मिनेटमा राजवंशीले गोल गर्दै घरेलु टोलीलाई प्रभावशाली जित दिलाए ।
खेलमा ह्याट्रिक गरेका विश्वास म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोली नेपाल पुलिस, शसस्त्र प्रहरी बल र नेपाल आर्मी क्लबले सहभागिता जनाएका छन ।
त्यस्तै ए डिभिजनका मनाङ, संकटा, च्यासल युथ क्लब, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुह सहित १० टोलीले सहभागीता जनाएका छन ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगीता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।
जितसंगै आयोजक नुवाकोट प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । घरेलु टोलीले सेमिफाईनल प्रवेशका लागि जेठ २४ गते बिजय युथ क्लबसंग खेल्नेछ ।