एजेन्सी । बार्सिलोनाका पूर्व स्टार रोनाल्ड कोमानले लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले यस पटकको बालोन डी'ओर अवार्ड जित्ने बताएका छन् ।
नेदरल्याण्डका प्रशिक्षक समेत रहेका कोमानले पाँच पटक विजेता लियोनल मेस्सीलाई पछि पार्दै भान डिज्कले अवार्ड जित्ने दाबी गरे ।
भान डिज्कको उच्च प्रदर्शनले लिभरपुलले यस सिजनको च्याम्पियन्स लिग जितेको थियो । च्याम्पियन्स लिगको सेमिफाइनलमा भान डिज्कको टिम लिभरपुलले मेस्सीको टिम बार्सिलोनालाई हराएको थियो ।
बार्सिलोना र मेस्सीको उच्च प्रदर्शनलाई भान डिज्कले रोक्न सकेको र टिमलाई उपाधि दिलाउन मुख्य भूमिका खेलेको कारण उनी अवार्डका हकदार रहेको कोमानले बताए ।
'भान डिज्क बालोन डी'ओर जित्नका लागि योग्य छन्,’ प्रशिक्षक कोमानले भने, 'सामान्यतया निर्णायक गोलकर्ता र सिर्जना गर्नेहरुलाई अवार्ड दिने गरिन्छ । तर, यदि डिफेन्डरलाई दिइन्छ भने अब यो समय हो ।’
स्पेनको मड्रिडमा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले टोटेनहमलाई २-० ले पराजित गरेको थियो । उक्त जितसंगै लिभरपुलले छैठौं पटक च्याम्पियन्स लिगमा कब्जा जमाउन सफल भएको थियो ।
यस्तै बार्सिलोनाका पूर्व डिफेन्सिभ मिडफिल्डर रहेका कोमानले मेस्सी पनि अवार्डका लागि हकदार खेलाडी नै रहेको बताए ।
‘मेरो विचारमा मेस्सी विश्वको उत्कृष्ट खेलाडी हो । मेस्सीले यो जित्नुपर्छ । चाहे उ फाइनलमा होस् वा नहोस् । ऊ विश्वको उत्कृष्ट खेलाडी हो,’ कोमानले भने ।