काठमाडौं । उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
जेठको अन्तिम साता सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र घोराही तुल्सीपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
पहिलो दिन हुने अन्य खेलमा समूह एबाटै शुम्भुनाथ र वालिङ्ग नगरपालिका तथा समूह बीबाट कावासोती र हेटौडा उप–महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल हलचोक मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागी हुने १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समुह एमा बाँसगढी, घोराही तुल्सीपुर, शम्भुनाथ र वालिङ नगरपालिका रहेका छन् । समूह बीमा कावासोती, हेटौडा उप महागर, चौदण्डी गढी र पोखरा महानगर रहेका छन् ।
समूह सीमा बाह्रविसे, चन्द्रपुर, भिमेश्वर र काठमाडौं महानगर छन् । त्यस्तै समूह डीमा विदुर, विराटनगर, धनगढी र पनौती नगरपालिका रहेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गर्ने प्रतियोगिता जेठ ३१ बाट सुरु भएर असार १४ गतेसम्म संचालन हुनेछ ।
लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् । एक टिममा विभागका पाँच जना खेलाडीले खेल्न पाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०र१० हजार पाउने छन् ।
यस्तै एन्फाले सबै टोलीलाई तयारी खर्च स्वरुप ५० हजार उपलब्ध गराउने छन् ।