काठमाडौँ। फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) बाहिरिनुमा आफ्नो दोष रहेको बताएका छन्।
जर्मन क्लब बोरुसिया डर्टमन्डसँगको सेमिफाइनलको दोस्रो लेगमा घरेलु समर्थकसामू पीएसजी १–० गोल अन्तरले पराजित भएको थियो। समग्रमा पीएसजी २–० गोल अन्तरले पराजित हुँदै लिगबाट बाहिरिएको हो। पहिलो लेगमा पनि डर्टमन्टले पीएसजीलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो।
आफूले प्राप्त गरेको केही अवसर गुमाएका कारण नतिजा फरक आएको एम्बाप्पेले बताए। ‘मैले आफ्नो टोलीलाई सक्दो सहयोग गर्ने कोसिस गरेँ। तर, मैले पर्याप्त गर्न सकिनँ। म त्यो व्यक्ति हुँ, जसले गोल गर्नुपर्छ र निर्णायक हुनुपर्छ। तर, मैले सकिनँ,’ उनले भने।
लिग वान च्याम्पियनले दोस्रो लेगमा लगभग ७० बल पोसिसन लिएको थियो। यस्तै, ३० प्रहार गरेका थिए। तीमध्ये चार शट ‘वुडवर्क’मा प्रहार भएको थियो।