काठमाडौँ। इङ्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङ्घमले लाउरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका छन्। स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका २० वर्षीय बेलिङ्घम उक्त अवार्ड जितेका हुन्।
गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउन्डमा उनी रियल आएका थिए। लाउरेस अवार्डका विजेताहरू खेलकुद जगतका व्यक्तित्वहरू मिलेर बनेको अन्तर्राष्ट्रिय निर्णायक मण्डलद्वारा छनोट गरिन्छ।
एल क्लासिको र म्यानचेस्टर सिटीको खेलपछि आफूले अलिक थकित महसुस गरेको उनले बताए। तर, यो अवार्डले आफूमा उर्जा थपेको उनको भनाइ थियो।
'यहाँ हुनु सम्मानको कुरा थियो। लौरियस ब्रेकथ्रु पाउनु एक गर्वको कुरा हो र म क्लब, परिवार र साथीहरूलगायत सबैलाई धन्यवाद दिन चाहन्छु,' उनले भने।
लाउरेस वर्ल्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड टेनिस खेलाडी नोभाक जोकोभिचले जितेका छन्। यस्तै, महिलातर्फ स्पेनकी मिडफिल्डर आइटाना बोनमाटीले अवार्ड जितेकी छन्। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनी सन् २०२३ को महिला विश्वकप जित्ने स्पेनको टोलीमा थिइन्।