सिमरा। विभागीय टोली नेपाल पुलिस क्लब १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंशालामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलमा पुलिसले आयोजक नव जनजागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो। आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
पुलिसको जितमा दुवै गोल उज्ज्वल राईले गरेका थिए। आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरे।खेलको तेस्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनायो।
आयोजकको समर्थनमा सिमरा रंशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्ज्वलले उत्कृष्ट शुरुवात गरे। राइट कर्नर एरियाबाट आयोजकका डिफेन्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्ज्वले गोल गरे।
शुरूआती दबाबमा परेको आयोजक खेलको पाँचौँ मिनटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो। पुलिस क्लबका नीरज खड्काले मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले पेनाल्टीको अवसर प्रदान गरे। पेनाल्टीमार्फत गोल गर्दै मोहितले खेल बराबरीमा ल्याए।
खेलको १९औँ मिनटमा उज्ज्वलले नै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। डिबक्स बाहिरबाट आयोजकका डिफेन्डर बिट गर्दै बल अघि बढाएका उज्ज्वले उत्कृष्ट गोल गरे।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोल नै पुलिसको जितमा निर्णायक बन्यो। दुवै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए। खेलमा दुवै टिमले आकर्षक अवसरहरू सिर्जना गरेपनि गोल हुन सकेन। खेलको ११औँ मिनटमा पुलिसका उज्ज्वलले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले। सुजन मगरको पासमा उज्ज्वले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरियो।
खेलको १२औँ मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो। नीरज कार्कीले पुलिसका गोलरक्षकसमेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेन्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोल लाइनबाट क्लियर गरे।
खेलको ८८औँ मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले। सेन्टर लाइनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेन्डरले रोक्न सफल भए।
दोस्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन। विवेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरियो। खेलमा आकर्षक अवसरहरू बनाए पनि फिनिसिङमा चुक्दा आयोजक नव जनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो।
खेलको म्यान अफ दी म्याच पुलिसका उज्ज्वल घोषित भए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे। प्रतियोगिताअन्तर्गत बिहीबार नेपाल एपीएफ क्लब र फ्रेन्ड्स क्लबको बिचमा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।