विराटनगर। न्यूरोड टिम (एनआरटी) आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
विराटनगरको शहिद रंगशालामा शुक्रबार सम्पन्न रात्रिकालीन गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वार्टरफाइनलमा पुगेको हो।
जितसँगै एनआरटीले आइतबार दोस्रो क्वार्टरफाइनल खेलमा भारतको सिक्किम ड्रागेनसँग प्रतिस्पर्धा गर्नेछ।
एनआरटीका लागि विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरे। आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो। टोलीका दिनेश हेम्जनको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले बचाए।
आर्मीका जिलेस्पीजंग कार्कीले १३औँ मिनेटमा ३० यार्डदेखि गरेको प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाए।
त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन्। १६औँ मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके।
२६औँ मिनेटमा एनआरटीका रिचार्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए। आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो।
४०औँ मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गर्ने अवसर गुमाए। त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो।
दोस्रो हाफबाट आर्मीले आक्रामक खेल पस्किए पनि गोलमा परिणत गर्न सकेन। ५२औँ मिनेटमा जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबारीमा ल्याउन सकेन।
६५औँ मिनेटमा एनआरटीका सञ्जीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले। ७३औँ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो।
७५औँ मिनेटमा डिबक्स भित्र वैकल्पिक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो।
८६औँ मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाए।
हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरूले सदुपयोग गर्न नसकेको बताए। ‘नियमित खेलहरु भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरु छन्। राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने।
जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए। ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राख्नेछौँ।’
प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।
शनिबार पहिलो क्वार्टरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ।