काठमाडौं । आयुश घलान सहितका स्टार खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले घलान सहितका केही सिनियर खेलाडीलाई बाहिर राख्दै विश्वकप छनोट अन्तर्गत बहराईनविरुद्धको टिम घोषणा गरेका छन् ।
आयुश घलान पछिल्लो समय घरेलु र अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा बढी प्रभावशाली प्रर्दशन गर्दै आईरहेका खेलाडी हुन् । पछिल्लो घरेलु प्रतियोगिताको रुपमा नेपाल सुपर लिगदेखि मैत्रीपूर्ण फुटबल हुँदै विश्वकप छनोट अन्तर्गतकै राष्ट्रिय टिममा उनी मुख्य खेलाडीको रुपमा प्रभाव देखाउने गरेका थिए ।
घरेलु फुटबलका उत्कृष्ट प्रर्दशन गरिरहेका केही खेलाडी भिन्सेन्जोको टिममा छैनन् । जसमा घलान सहित दीप कार्की, देबेन्द्र तामाङ लगायतका खेलाडी छन् । भारतबाट ब्यवसायीक फुटबल खेलिरहेका एरिक विष्ट लगायतका खेलाडीलाई समेत राष्ट्रिय टिम बाहिर राखिएको छ ।
भिन्सेन्जोले घोषणा गरेको टिममा किरण लिम्बु, अभिषेक बराल, बिशाल सुनार गोलकिपरमा छन् । डिफेन्डरमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।
मिडफिल्डमा भरत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणीकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् ।
फरवार्डमा अन्जन विष्ट, दिनेश हेन्जन, हिसब थपलिया, समिर तामाङ, सञ्जिव विष्ट, जिलेस्पीजग कार्की छन् ।
नेपालले चैतको पहिलो साता बहराईनसँग विश्वकप छनोटको दोस्रो चरणको म्याच खेल्ने तालिका छ । सो खेलको तयारीका लागि बुधबार नेपाली टिम मलेसिया उड्नेछ ।
मलेसियामा नेपालले विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।