काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार राति वेल्सले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
वेल्सले अमेरिकासँग अहमद बिन अलि स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको वेल्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
६४ वर्षपछि विश्वकप खेल्न लागेको वेल्स सुखद सुरुआतको योजनामा हुनेछ । यस्तै २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट अमेरिका पनि विजयी सुरुआतको योजनामा रहेको छ ।
विश्वकपको आफ्नो पहिलो खेलमा दुबै टोली जितका लागि बलियो सुरुआती-११ लाई मैदान उतार्ने छन् । यस्तोमा अमेरिकाका क्रिस्टियन पुलिसिच र वेल्सका ग्यारेथ बेल प्लेयर्स टु वाचमा रहेका छन् ।
ग्यारेथ बेल -
वेल्सका लिजेण्ड खेलाडी हुन् बेल । उनले विभिन्न ठुला प्रतियोगितामा जादुमय प्रदर्शन गर्दै वेल्सलाई जित जिताउदै आएका छन् ।
अमेरिकाविरुद्ध मैदान उत्रदा वेल्सको मुख्य हतियार बेल नै हुनेछन् । उनी टिमका कप्तान समेत हुन् ।
३३ वर्षीय बेल आवश्यक परेको खण्डमा विपक्षी टोलीका डिफेन्डरलाई जिल्लाउदै गोल गर्न सक्ने खुबी राख्छन् । उनले आफुलाई प्रमाणित समेत गरिसकेका छन् ।
हालै बेलले लस एन्जलस एफसीलाई अमेरिकाको मेजर लिग सकर एमएलएस कपको उपाधि जिताएका थिए ।
टोटेनहम र रियल मड्रिडका पूर्व खेलाडीले वेल्सका लागि १०८ खेलमा ४० गोल गरिसकेका छन् ।
उनले यस विश्वकप आफ्नो अन्तिम विश्वकपको रुपमा हेरेका छन् ।
क्रिस्टियन पुलिसिच -
पुलिसिचलाई 'क्याप्टेन अमेरिका' उपनामले चिन्ने गरिन्छ । उपनाम जस्तै उनले आफुलाई प्रमाणित गरिसकेका छन् ।
पुलिसिचले विश्वकप छनोटको २३ खेलमा १९ गोल गरेका थिए । कतारमा उनीबाट अमेरिकाले ठुलो आशा गरेको छ ।
२४ वर्षीय विंगरलाई अमेरिकाले वेल्सविरुद्ध मुख्य खेलाडीको रुपमा अघि सार्ने छ । निकै चतुर विंगर गोल गर्न र पास उपलब्ध गराउन माहिर छन् । त्यसैले वेल्सका डिफेन्डरका लागि उनी टाउको दुखाई बन्न सक्ने छन् ।
पुलिसिच प्रिमियर लिग क्लब चेल्सीबाट खेल्ने गर्छन । चेल्सीमा समेत उनले पाएको अवसरमा प्रमाणित गर्दै आएका छन् ।
पुलिसिचले अमेरिकाका लागि ५२ खेलमा २१ गोल गरिसकेका छन् ।