काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार हुने दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दोहास्थित अल थुमामा स्टेडियममा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
सेनेगल र नेदरल्यान्ड्स दुबै टोली आज जितको खोजीमा हुनेछन् । दुबै टोलीले बलियो सुरुआती-११ मैदान उतार्ने छन् ।
यस खेलमा सेनेगलका कालिडोउ कुलिबाली र नेदरल्यान्ड्सका स्टिभन वर्गवाइन प्लेयर्स टु वाचको रुपमा रहने छन् ।
कालिडोउ कुलिबाली -
कुलिबाली डिफेन्डर हुन, तर डच टोलीविरुद्ध सेनेगल उनकै भरमा हुनेछ । शारीरिक रुपमा बलिया डिफेन्डर कुलिबाली नेदरल्यान्ड्सका फरवार्डलाई रोक्न मुख्य खेलाडीको रुपमा रहने छन् ।
कप्तान साडियो मानेको अनुपस्थितिमा दबाबमा रहेको सेनेगल कुलिबालीको मजबूत डिफेन्समा आशावादी छ ।
प्रिमियर लिग चेल्सीबाट खेल्दै आएका उनी विपक्षी टिमका फरवार्डलाई रोक्न माहिर मानिन्छन् । ३१ वर्षीय डिफेन्डरले सेनेगलका लागि ६४ खेल खेलिसकेका छन् ।
अनुभवी डिफेन्डर नापोलीबाट यसै वर्ष चेल्सी आएका हुन् । उनले चेल्सीका लागि ९ खेलमा १ गोल गरिसकेका छन् ।
स्टिभन वर्गवाइन -
विंगर स्टिभन सेनेगलविरुद्ध डच टोलीका मुख्य हतियार हुन् । तीव्र गति र ड्रिब्लिङ क्षमताले गर्दा उनी जुनैसमय विपक्षी टोलीलाई निकै समस्यामा पार्न सक्छन ।
स्टिभन प्लेमेकर समेत हुन् । त्यसैले मेम्फिस डिपेको अनुपस्थिति रहेमा उनी डच टोलीको अग्रपंक्तिमा मुख्य खेलाडी बन्ने छन् ।
२५ वर्षीय विंगरले नेदरल्यान्ड्सका लागि २४ खेलमा ७ गोल गरिसकेका छन् ।
उनी हाल डच क्लब आयाक्सबाट खेल्ने गर्छन ।यसै वर्ष उनी इंग्लिस क्लब टोटेनहमबाट आयाक्स आएका हुन् ।