काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार इंग्ल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
युरोपियन राष्ट्र इंग्ल्यान्डले मध्ये पूर्वी राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
युरोकप उपविजेता इंग्ल्यान्ड पहिलो खेलमा सहज जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छ । इरान पनि इंग्ल्यान्डलाई हराएर विजयी सुरुआतको योजनामा हुनेछ ।
थ्री लायन्स टोली २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । २०२० को युरोमा उपविजेता बनेको थियो ।
ग्यारेथ साउथगेटको नेतृत्वमा रहेको इंग्ल्यान्ड कतार विश्वकपमा समेत उत्कृष्ट नतिजा र प्रदर्शनलाई कायम राख्न चाहन्छ ।
'हरेक खेलाडी र हरेक प्रशिक्षकका लागि यो विश्व फुटबलको शिखर हो । त्यसैले हामी वास्तवमै आफैलाई परीक्षण गर्न तत्पर छौं,' इरानसँगको खेलअघि साउथगेट भन्छन् ।
इरानको यो छैटौं विश्वकप सहभागिता हो । लगातार तेस्रो पटक इरानले विश्वकप खेलिरहेको छ । त्यसैले इरान इंग्ल्यान्डलाई कडा चुनौती दिन तयार छ ।
'हामी हाम्रा सबै विपक्षीहरूलाई समान सम्मान दिनेछौं। हामी यी तीन खेलहरू जित्नका लागि सबै दिन्छौं । तर हामीलाई हाम्रो बाटोमा जानका लागि केहि चीजहरू चाहिन्छ.' इरानी स्ट्राइकर मेहदी तारेमी भन्छन् ।
हेड टु हेड :
इंग्ल्यान्ड र इरानबीच यो पहिलो प्रतिस्पर्धा हो । यस अघि दुबै टोलीले एकअर्काविरुद्ध खेलेका छैनन् । दुबैले एक अर्काविरुद्ध आफ्नो पहिलो खेल विश्वकपमा खेल्न लागेका हुन् ।
सम्भावित सुरुआती-११
इंग्ल्यान्ड - जोर्डन पिकफोर्ड, जोन स्टोन्स, एरिक डायर, ह्यारी मग्वाएर, केइरन ट्रिपिएर, डिक्लान राइस, जुड बेलिङघम, लुक श, बुकायो साका, ह्यारी केन, रहिम स्ट्रर्लिङ
इरान - एलीरेजा बेइरानभान्ड, सदेग मोहरमी, हुसेन कानानिजादेगन, माजिद होसेनी, एहसान हजसाफी, अहमद नौरोल्लाही, सईद इजातोलाही, ओमिद इब्राहिमी, एलिरेजा जहामबख्श, करीम अन्सारिफार्द, मेहदी तारेमी