काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मनाङले थ्री स्टारलाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा एक मनाङले एक आत्मघाती उपहार पाएको हो । थ्री स्टारका रञ्जित धिमालले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको ११ औं मिनेटमा अन्जन बिष्टले उत्कृष्ट गोल गर्दै मनाङलाई १ - ० को अग्रता दिलाए । हेमन गुरुङको पासमा अन्जनले सेकेण्ड बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि खेलको १९ औं मिनेटमा थ्री स्टारका विजय धिमालले आत्मघाती गोल गरे । थ्री स्टारका किपर एलेन न्यौपानेले क्लियर गर्न खोजेको बल विजयलाई लाग्दै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा थ्री स्टार खेलमा फर्कने कोशिश गर्यो । खेलको ८५ औं मिनेटमा रञ्जितले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २ -१ को स्थितिमा ल्याए । मनाङका मोहमद आसिफले थ्री स्टारका अजिज मार्टिनलाई पेनाल्टी बक्समा तानेर फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
त्यसपछि एकतर्फी दबाब सिर्जना गरेपनि थ्री स्टारले थप गोल फर्काउन सकेन र मनाङसंग २ - १ ले स्तब्ध बन्यो ।
खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए ।
जितसंगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा शत प्रतिशत जित निकाल्ने क्रममा मनाङले ३ खेलबाट ९ अंक जोडेको छ । मनाङले थ्री स्टारलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानको थ्री स्टारको ३ खेलबाट ६ अंक छ ।