काठमाडौं । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले आज राति एएफसी एसियन कप छनोटको पहिलो खेलमा जोर्डनको सामना गर्दैछ । समूह 'ए' को सबैभन्दा तल्लो वरीयतामा रहेको नेपाललाई इतिहासमा पहिलो पटक एएफसी एसियन कपमा पुग्ने महत्वाकांक्षाको परिक्षण गर्ने अवसर छ ।
नेपालको छनोट हुने लक्ष्य भन्नु अहिलेलाई सान्दर्भिक नहोला । यो कुरा प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफै स्वीकारेका छन् । यो भनाइपछि उनीविरुद्ध खेलाडीको मनोबल घटाएको आरोप लाग्यो । सुरुमै हार स्वीकारेको भन्दै आलोचना गरियो । यद्दपी वास्तविकता यहि हो ।
तर, मैदानमा उत्रिँदा 'अगेन्स्ट अल अड्स' सबै टोली जितको लागि नै उत्रिन्छन् । आखिर खेल न हो नतिजा जे पनि हुन सक्छ ।
हरेक भिडन्तमा आफूमाथि दबदबा राखेको जोर्डनसँग सामना गर्दा गोर्खालीले ठुलो मेहनत भने गर्नुपर्छ । जोर्डनले चार खेलमा नेपालविरुद्ध १६ गर्दा नेपालले आजसम्म उसलाई १ गोल मात्र फर्काउन सकेको तथ्य छ । भरत खवासले जोर्डनविरुद्दको एकमात्र गोल गरेका छन् । हाल उनी राष्ट्रिय टोलिमा छैनन् ।
कतारमा १० दिनको बसाई सकेर मध्यपूर्वको वातावरण अनुकूल बनाउन नेपाल केही दिनअघि कुवेत आइपुगेको थियो । नेपालले जोर्डन पछि जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
आज नेपाल बलियो टिम जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन । नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
विभिन्न उतारचढाव बेहोर्दै नेपाली टोलि अन्तत: परीक्षाको घडीमा आइपुगेको हो । उसो त नेपाली टोलि अहिले पूर्णतया 'सेट' भईसकेको छैन । सिनियर खेलाडीसँगको विवादपछि प्रशिक्षक अलमुताईरीले जुनियर खेलाडीलाई समेट्दै नयाँ टोलि त तयार पारे तर एसियन कप छनोट जस्तो ठुलो स्तरमा के यो टोलीले बलियो चुनौती पेश गर्ला ? आम समर्थक यसैको पर्खाइमा छन् । एउटा 'दुर्घटनावश' तयार भएको टोलीले के अलमुताईरीको 'रिस्की मुभ' लाई सहि साबित गर्ला ?
प्रश्नहरु धेरै छन् र आज सबै प्रश्नको उत्तर दिने दिन हो । 'ट्रान्जिसन फेज' बाट गुज्रिरहेको नेपाली टोलीको प्रदर्शनमा आज सम्पूर्ण नेपालीको नजर छ । चासो छ नतिजा कस्तो आउला !
'हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ,' अलमुताईरीले प्रि म्याच कन्फेरेन्समा भनेको यसै लाइनबाट बुझ्न सकिन्छ कि उनी भविष्यको लागि यो टोलीलाई तयार बनाइरहेका छन् ।
यो बिचमा नेपालले बलिया टोलिसँग अभ्यास खेल खेल्यो । नेपालले दोहामा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ को बराबरी, श्रीलंकासँग १-१ को बराबरी र ओमानसँग २-० को हार व्यहोरेको थियो ।
जोर्डनले भने एसियन कप प्रतियोगिताको पछिल्ला तीन संस्करणमा भाग लिएको छ । लगातार चौथो पटक उसको आँखा एएफसी एसियन कपमा छ । अदनान हमादको टोलिले पछिल्लो केही दिन भारत र अष्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै क्वालिफायरको लागि तयारी गरेको थियो । उसले भारतलाई २-० ले हराउँदा अष्ट्रेलियासँग २-१ ले पराजित भएको थियो ।
जोर्डनविरुद्ध नेपाल हेड टू हेड:
यसअघि दुवै पक्षबीच चार पटक भिडन्त भएको छ । जसमध्ये नेपालले कुनै खेल जित्न सकेको छैन । तीन खेल हारेको छ भने एक खेलमा बराबरको नतिजा निकालेको छ । यी दुई टोलीको अन्तिम भेट विश्वकप एसिया छनोटमा भएको थियो । विश्वकप छनोटमा पनि जोर्डन दुवै लेगमा ३-०/३-० ले विजयी भएको थियो ।
टिम जानकारी - जोर्डन :
१९ खेलमा ६ गोल गरेका जोर्डनका अलि ओल्वान उत्कृष्ट लयमा छन् । मुख्य प्रशिक्षक अदनान हमादको लागि बेन्चबाट पनि हम्जा अल-दर्दोर विकल्पमा छन् । बेल्जियनमुलका जोर्डनी खेलाडी मुसा अल-तामारी अस्ट्रेलियासँग पराजित भएको खेलमा सबैको नजरमा थिए । विङ्ग पोजिसनमा नेपालविरुद्ध उनी घातक हुन सक्छन् । जोर्डनले पछिल्लो एघार खेलमा ५४.५५% खेलमा औसत २.५ भन्दा बढी गोल र ४५.४५% खेलमा औसत २.५ भन्दा कम गोल गरेको छ । जोर्डनले पछिल्लो ५ खेलमा मात्र १२ गोल गरेको छ ।
जोर्डनको सम्भावित ११ :
जोर्डन (४-१-४-१): याजिद अबु लैला, इहसान हद्दाद, तारेक खट्टाब, याजान अल-अरब, मोहम्मद अबू हशीश, बहा अब्देल रहमान, मुसा अल-तामारी, नूर अल-रावब्देह, अहमद समीर, शारारा, अली ओलवान ।
टिम जानकारी - नेपाल :
कप्तान र वर्तमान टिममा शीर्ष गोलकर्ता नवयुग श्रेष्ठले फेरि एक पटक गोर्खालीको लागि अग्रपंक्तिमा नेतृत्व गर्नेछन् । पछिल्ला खेलहरुमा नेपालको लागि राम्रो लयमा रहेका दर्शन गुरुङको साथ उनले पाउने छन् । अन्य नयाँ खेलाडीले पनि डेब्यु गर्ने सम्भावना छ । अब्दुल्लाह बटालियनका केहि पुराना अनुहार पुजन उपरकोटी, आयुष घलान, मनिष डाँगी, सुमन अर्यालले सुरुवात गर्न सक्छन । तीन गोलकिपर दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापामध्ये एकले बुधबार अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने पक्का छ । नेपालको पछिल्लो ११ खेलमा २७.२७% खेलमा २.५ भन्दा बढी गोल औषत र ७२.७३% खेलमा २.५ भन्दा कम गोल औषत रहेको छ । नेपालले पछिल्लो ५ खेलमा ४ गोल गरेको छ ।
नेपालको सम्भावित ११ :
नेपाल (४-३-३): दिप कार्की, सुमन अर्याल, बिकाश तामाङ, राजन गुरुङ, गौतम श्रेष्ठ, सुरज ज्यु ठकुरी, सन्तोष तामाङ, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल ।
जोर्डन भर्सेज नेपाल अन्तिम नतिजा :
दुवै टोलीले आ-आफ्नो पछिल्लो खेलमा पराजय व्यहोरेर आएका छन् । यद्दपी यो खेलमा जोर्डन प्राबिधिक पक्षमा मात्र होइन कागजमा समेत राम्रो देखिन्छ । फिफाको पछिल्लो वरीयतामा नेपाल हाल १६८औँ स्थानमा छ भने जोर्डन नेपालभन्दा निकै माथि ९१औँ स्थानमा रहेको छ । नेपाललाई पराजित गर्न र जितका साथ आफ्नो अभियान सुरु गर्न जोर्डनलाई सायद अप्ठ्यारो नहोला ।
फाइनल स्कोर : जोर्डन ३-१ नेपाल (खेलपाटी अनुमान)