काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।
नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गर्छन् ।
'हामीलाई दबाब छैन । किनभने हाम्रो समूहमा हामी ४ पोर्टको राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन,' प्रि म्याच कन्फरेन्समा अलमुताईरीले भने, 'यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।'
अलमुताईरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।
'हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ,' उनले थपे ।
किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए ।
'उनीहरु हामीभन्दा बलियो भएको प्रमाणित गरिसकेका छन् । तर, हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ,' कप्तान नवयुगले भने ।
कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।